प्रेमनाथ पौडेल,सर्लाही । सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा सञ्चालन हुँदै आएको “हाम्रो शहर परियोजना” अन्तर्गत सरोकारवालाबीच २०२५को जनवरी देखि हाल सम्म को वार्षिक कार्य समीक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम हरिवन नगरपालिका–९, नयारोडस्थित होटल होलिडे इनको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य र औचित्यमाथि परियोजनाका कार्यक्रम संयोजक धिरेन्द्र कुमार चौधरी ले जानकारी गराउनुभएको थियो। कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, शिक्षा उपसचिव हरि प्रसाद दाहाल, विभिन्न विषयगत शाखाका प्रमुखहरू, रोड सेफ्टी क्लब गठन भएका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, रोड सेफ्टी क्लबका पदाधिकारी, वडा नम्बर ८ र ११ मा गठन भएका टोल विकास संस्थाका पदाधिकारी, वडा अध्यक्ष, वडा सदस्य तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा चालु वार्षिक कार्ययोजनाको प्रगति समीक्षा गर्दै भविष्यका कार्ययोजनाका लागि सुझाव र सल्लाह संकलन गरिएको थियो। सहभागीहरूले हरिवनलाई सुन्दर, समृद्ध, दिगो र व्यवस्थित शहर बनाउन शिक्षा, स्वास्थ्य, नाला तथा ढल निर्माण, बजार व्यवस्थापन, फोहर व्यवस्थापन, सडक तथा खानेपानीको उचित व्यवस्था, कृषि क्षेत्रको विकास र लघु उद्यम प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए। साथै युवालाई आफ्नै ठाउँमा रोजगारमुखी बनाउने योजना आवश्यक रहेको सुझाव पनि दिइएको थियो।
आयोजक संस्था बागमती सेवा समाज नेपाल की समाज परिवर्तन सहजकर्ता पूनम भट्टराई ले सहभागीहरूको सुझाव संकलन गरी आगामी योजनामा समावेश गरिने जानकारी दिनुभयो।

हरिवनमा पछिल्लो डेढ वर्षदेखि हेल्भेटास नेपालको आर्थिक सहयोग तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा “हाम्रो शहर परियोजना” सञ्चालन हुँदै आएको छ। परियोजनाअन्तर्गत टोल विकास संस्था गठन गरी नगरको समग्र विकास, सुशासन प्रवर्द्धन, पूर्वाधार विकास तथा क्षमता अभिवृद्धिका विभिन्न गतिविधि सञ्चालन हुँदै आएको कार्यक्रमकी सञ्चालिका एवं समाज परिवर्तन सहजकर्ता बिधा पौडेल ले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, माहादेव माविका प्रधानाध्यापक गिरिराज राना, हनुमान टोल विकास संस्थाका सचिव दुर्गाहरी पौडेल, महिला तथा बालबालिका शाखाकी निरीक्षक रुपा हुमागाईं, कृषि शाखाकी नविना दाहाल, जितेन्द्र कुश्वाहा लगायतले समूहगत रूपमा टिपोट गर्दै आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ ।




