प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा शहरी विकास योजना तथा सेवा प्रवाह विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बागमती सेवा समाज नेपाल, हरिवनको आयोजनामा तथा हेल्भेटास नेपालको आर्थिक, काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग र हरिवन नगरपालिकाको समन्वयमा कार्यक्रम हरिवन नगरपालिका–११ स्थित कृष्ण मन्दिर क्रियापुत्री भवनमा सम्पन्न भएको हो ।

हाम्रो शहर परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा सहभागीहरूले नगरपालिकाभित्रको शिक्षा, स्वास्थ्य, सरसफाइ, फोहरमैला व्यवस्थापन, सडक निर्माण, ट्राफिक नियमको पालना, सुशासन, बालविवाह न्यूनीकरण, कृषि यान्त्रीकरण, कृषि बीउबिजन, धुवाँ–धुलो व्यवस्थापन, खानेपानी तथा सिँचाइ, भौतिक पूर्वाधार निर्माणमा मापदण्डको पालना, अनुगमन–नियमन र अपाङ्गता मैत्री कार्यालय लगायतका विषयमा जिज्ञासा तथा प्रश्नहरू राखेका थिए ।

सहभागीका प्रश्नको जवाफ दिँदै **नगर प्रमुख रमेश बुढाथोकी (कमल)**ले आफू निर्वाचित भएर आएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी बनाइएको र अनियमित खर्च कटौती गरिएको बताउनुभयो । उहाँले शिक्षा, सडक, खानेपानी र सिँचाइ व्यवस्थापनसँगै कृषि क्षेत्रको समग्र विकासका लागि ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण सामग्री उपलब्ध गराइएको, स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाका लागि पोषण कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, तथा प्रत्येक विद्यालयमा विद्यार्थीका लागि नर्स/अनमीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालले नगरपालिकाबाट प्रदान गरिने सेवाहरू पारदर्शी र प्रभावकारी ढंगले प्रवाह भइरहेको तथा सम्पन्न भएका कार्यहरूको नियमित अनुगमन भइरहेको बताउनुभयो ।

शिक्षा उपसचिव हरि प्रसाद दाहालले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको, अपाङ्गता भएका व्यक्तिहरूका लागि हरिवन–९ स्थित विष्णुपुरमा अपाङ्गता मैत्री कार्यक्रम सञ्चालन गरिएको तथा विद्यार्थीको चापअनुसार शिक्षक दरबन्दी मिलान गर्ने नगरको नीति रहे पनि केन्द्र सरकारको नीतिका कारण कार्यान्वयनमा समस्या रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ११ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष युगबहादुर अधिकारी, हनुमान टोल विकास संस्थाका सचिव दुर्गाहरी पौडेल, प्रगतिशील टोल विकास संस्थाकी सचिव दीर्घा लुईटेल, बासाटोल विकास संस्थाकी अध्यक्ष गोदा भट्टराई, नारायण मार्ग टोल विकास संस्थाका शिवप्रसाद धिमाल, रामु ओली, चतुर्भुजेश्वर जनता माविकी शिक्षिका बेबिया झा, महादेव जनता मावि रोड सेफ्टी क्लबका अध्यक्ष राहुल ठाकुर, अनुजा भण्डारी, चतुर्भुजेश्वर मावि रोड सेफ्टी क्लबकी अध्यक्ष युना मगर लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार प्रेमनाथ पौडेलले गर्नुभएको थियो भने परियोजनाका कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले कार्यक्रमको उद्देश्यसहित सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । सहजीकरणमा पुनम भट्टराई र समाज रूपान्तरण सहजकर्ता बिधा पौडेल रहनुभएको थियो ।

सुन्दर, समृद्ध, दिगो र व्यवस्थित शहर निर्माण गर्ने उद्देश्यका साथ बागमती सेवा समाज नेपालले विगत डेढ वर्षदेखि हरिवनका नं. ८ र ११ मा १७ वटा टोल विकास संस्था गठन गरी सुशासन, सीप विकास, नगर पूर्वाधार निर्माण लगायतका क्षेत्रमा तालिम, प्रशिक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।




