भक्ती रिजाल,
सर्लाही । हरिवन नगरपालिकाद्वारा चालु आर्थिक बर्ष २०८२/०८३ मा लागत साझेदारीमा खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गतको सुधारिएको चुलोको वितरण कार्यको सुरुवात गरेको छ ।
घरेलु वायोग्याँस तीन तह सुधारिएको चुलो विधुतीय चुलो निर्माणका लागि पालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र काठमाडौबिच सम्झौता भए अनुसार स्वच्छ चुलो कार्यक्रमको लागि माग भए बमोजिम सम्पुर्ण वडागत तहबाट आवेदन माग गरिएको र सोही अनुसार वितरण कार्य सुरु गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख बुढाथोकीले भने, “विद्युतीय चुलो प्रयोग गर्दा राज्यलाई फाइदा हुनुका साथै आम जनतालाई सहज हुने छ । सस्तो लागतमा जनतालाई सुबिदा पुगोस भनेर सुधारिएको चुलो बितरण कार्यको सुरुवात गरिएको बुढाथोकीले बताए ।
कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाकी उप-प्रमुख हरिमाया घलानले विद्युतीय चुलोको प्रयोगले महिला बालबालिका तथा वृद्धवृद्धालाई धुवाँधुलोबाट राहात मिल्ने बताइन् ।

कार्यक्रममा फोकल पर्सन तथा वन अधिकृत सुवास कुशवाहाले पहिले चरण अन्तर्गत हरिवन नगरभरि सुधारिएको चुलो तथा बायोग्याँस जडान गरिने बताए ।




