सर्लाही । माघे संक्रान्ति पर्व नजिकिँदै गर्दा । नेपाली समाजमा तरुललाई माघे संक्रान्तिको विशेष परिकारको रुपमा लिइन्छ । माघे संक्रान्तिमा तरुल फलाहारको रुपमा खाने प्रचलन छ । पछिल्लो समय व्यवसायिक तरुल खेतीमा सर्लाही देशकै अब्बल जिल्लाको रुपमा स्थापित हुँदैछ ।
जिल्लाको उत्तर पश्चिम क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ । माघे संक्रान्ति आउन केही दिन बाँकी रहँदा बजारमा लैजान धमाधम तरुल खन्न थालिएको किसान राम सून्दर महतोले बताए ।
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ । किसानबाट केही समयअघि नै हरियो बोट हुँदै खरिद गरेको तरुल व्यापारीले मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका हुन् । सर्लाहीमा बरहथवा नगरपालिका र बागमती नगरपालीका नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । धमाधम मजदुर लगाएर तरुल खनिरहेका किसान र व्यापारीलाई काठमाडौँ पु¥याएर तरुल बेच्न उत्तिकै भ्याइनभ्याइ छ ।
पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बरहथवा नगरपालिका बागमती नगरपालिका बागमती बगरमा तरुल खेती हुँदै आएको छ । सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो ।
यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालीमाटी तरकारी बजार हुँदै देशका अन्य ठुला सहरसम्म पुग्ने गरेको छ । जमिनभित्र रहेको तरुल के कति फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मूल्य लगाउदा कहीले राम्रो फाइदा हूने र कहिले घाटा समेत लाग्ने गरेको व्यापारीले बताए । यो वर्ष तरुलले राम्रो मूल्य नपाएको किसान सूसीला देबि जयसवाले गुनासो गर्नुभयो ।
विशेषगरी सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने बागमती, बरहथवा नगरपालिकामा तरुलको व्यवसायिक खेती हुन्छ । तरुल अर्थात कन्दमुल, जो जमिनमुनीबाट निकालिन्छ । तरुल लहरामुनी फल्ने फल हो । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकार बन्छ ।
बागमती फाँटमा धमाधम तरुल खन्ने काम भइरहँदा सयौँ मजदुरले तरुल खनेरै राम्रो आम्दानी गरिरहेका छन् । सर्लाहीको दक्षिणी भेगका विभिन्न गाउँबाट युवादेखि वृद्ध उमेरका मानिस तरुल खन्न बागमती क्षेत्रमा आइपुगेका छन् । सर्लाहीको बागमती, राजघाट, सोल्टी, हजरिया, बरहथवालगायत क्षेत्रमा धेरै किसानले तरुल खेती गर्ने गरेकोमा पछिल्लो समय भने तरुल खेती गर्न छाडेर मकैको खेती गर्न थालेका छन् ।
एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । लागत कम हुने उत्पादन धेरै हुने र मूल्य राम्रो पाइने भएकोले कीसान तरुल खेती गर्ने थालेका हून ।
जिल्लामा मात्र यस वर्ष करिब तीन सय आठ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको छ । फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ । सर्लाहीमा तीन सय आठ हेक्टर क्षेत्रफलमा झन्डै ५ हजार ८२ मेट्रिक टन तरुल उत्पादन हुने गरेको क कृषि ज्ञान केन्द्र मलंगवाकी सूचना अधिकारी सिमा कार्कीले बताइन ।




