सर्लाही । सर्लाहीको हरिवन बजारस्थित जिल्ला कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सर्लाही १०५.७ मेगाहर्ज’ को टावरमा बुधबार दिउँसो करिब ३ बजेको समयमा चट्याङ्ग परेको दृश्य एक स्थानीयले आफ्नो मोबाइलमा कैद गरेका छन्। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले व्यापक रूपमा चर्चा भइरहेको छ।
तस्वीरमा देखिएअनुसार कालो बादलले ढाकिएको आकाशबीच सिधै रेडियो टावरमा चट्याङ्ग परेको स्पष्ट देखिन्छ, जसले केही समयका लागि स्थानीयमा त्रास फैलाएको थियो। सोही समयमा हावाहुरी र वर्षासहित चट्याङ्ग पर्ने प्रबल सम्भावना देखिएपछि रेडियो प्रशासनले तुरुन्तै सम्पूर्ण उपकरण बन्द (स्विच अफ) गरेको थियो।
रेडियोकी स्टेशन म्यानेजर रिना आलेका अनुसार समयमै सतर्कता अपनाइएकै कारण रेडियोका उपकरणमा कुनै क्षति हुन पाएन। उनले भनिन्, “यसअघि पनि केही वर्षअघि दुई पटक टावरमा चट्याङ्ग पर्दा लाखौँ रुपैयाँ बराबरको क्षति भएको थियो, त्यसैले यसपटक हामीले सावधानी अपनायौं।”
वि.सं. २०६६ सालमा स्थापना भएको रेडियो सर्लाही सामुदायिक सञ्चार रेडियो सहकारीमार्फत दर्ता भई सञ्चालनमा आएको जिल्लाकै पहिलो रेडियो हो। हालको घटनाले चट्याङ्गको जोखिम बढ्दै गएको देखाउँदै यस्ता प्राकृतिक विपद्बाट जोगिन समयमै सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।




