प्रेमनाथ पौडेल , महोत्तरी । वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा सञ्चालित विभिन्न परियोजनाहरूको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक भाद्र १८ गते जिल्ला समन्वय समिति महोत्तरीको सभाकक्ष, जलेश्वरमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णले गर्नुभयो ।
बैठकमा प्रमुख कर्णले वल्र्ड भिजन इन्टरनेसनल नेपाल र साझेदार संस्थाहरूले विपन्न वर्ग लक्षित गरी सञ्चालन गरेका क्रियाकलाप प्रशंसनीय रहेको उल्लेख गर्दै परियोजनाको विश्वसनीयता थप बढाउन प्रारम्भिक अवस्था र प्रगतिसँग सम्बन्धित सूचकाङ्क प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले परियोजनाले विपन्न वर्गको जीवनस्तर सुदृढीकरणमा दिएको योगदानको प्रशंसा गर्दै परियोजना सञ्चालनका क्रममा देखा परेका चुनौती र सिकाइसमेत समीक्षा प्रक्रियामा समेटिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, संरक्षण तथा विपद् जोखिम न्यूनीकरणलगायत क्षेत्रमा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र साझेदार संस्थाद्वारा सञ्चालन गरिएका गतिविधि प्रभावकारी रहेको उल्लेख गर्दै यसले विपन्न वर्गको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याएको बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख नन्दु महरा, एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुन, विभिन्न गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला स्तरका विषयगत कार्यालयका प्रमुख, गैरसरकारी संस्था महासंघ महोत्तरीका अध्यक्ष दिलीप पाण्डेलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०२५ का लागि एकीकृत ग्रामिण विकास समाज महोत्तरीले सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र दलित समाज उत्थान समिति नेपालले सञ्चालित बाल स्पोन्सरशिप परियोजना सम्बन्धी प्रस्तुतिकरणसहित छलफल गरिएको थियो ।

यसैगरी सन् २०२१ देखि २०२५ सम्म सञ्चालन गरिएका मुख्य गतिविधि समेटिएको प्रगति प्रतिवेदन वल्र्ड भिजन इन्टरनेसनल नेपालका नीति विज्ञ प्रमिल अधिकारीले जिल्ला समन्वय समिति प्रमुख सुमन कुमार लाल कर्णलाई हस्तान्तरण गर्नुभएको थियो ।




