प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा स्थानीय तह स्तरीय स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा तथा योजना तर्जुमा सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न भएको छ।
हरिवन नगरपालिका कार्यपालिका अन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सोमबारबाट सुरु भएको उक्त गोष्ठी मंगलबार सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख हरिमाया घलानले गर्नुभएको थियो।

हरिवन–८ स्थित स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुंयाल, शिक्षा उपसचिव तथा सामाजिक विकास समितिका सचिव हरि दहाल, स्वास्थ्य कार्यालय सर्लाहीका तथ्याङ्क अधिकृत लालबाबु राय, नगरपालिकाका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी स्वास्थ्य संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आ.व. २०८१/८२ को असार मसान्तसम्म सम्पादित स्वास्थ्य सेवा कार्यक्रमहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, आगामी वर्षमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सहज र गुणस्तरीय बनाउनका लागि आवश्यक योजना र रणनीति समेत तयार पारिएको बताइएको छ।

हरिवन नगरपालिकाअन्तर्गत रहेका ११ वटा स्वास्थ्य संस्थामध्ये ५ वटा स्वास्थ्य संस्था A+, ५ वटा A, र १ वटा B+ श्रेणीमा उत्रिन सफल भएका नगर स्वास्थ्य संयोजक रामबाबु चौधरी ले बताउनु भयो ।

यस उपलब्धिका लागि सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सहभागीहरूलाई नगर स्वास्थ्य शाखा हरिवन ले धन्यवाद प्रदान गरिएको छ ।
बिगत दुई बर्ष देखि स्वास्थ्य सेवा सम्पादन मा हरिवन नगरपालिका जिल्ला तथा प्रदेश मै उत्कृष्ट काम गरि प्रथम हुन सफल भएको छ ।




