भक्ती रिजाल
सर्लाही । आज भन्दा १०/१५ बर्ष अगाडि सम्म गाउँघर सहर बजार तथा बारी र बिरौटाहरुमा पहेँलपुर भएर सयपत्री फुल फुलेको देखिन्थ्यो ।
कोदो बारिमा, आलिमा, धान खेतका आलिमा काल्ला तथा बिरौटो बारिमा जताततै सयपत्री, मखमली तथा फिलुङ्गे, घोरे, बोडी तथा क्यात्तुके जस्ता रैथाने फुलहरुले गाउँ नै उज्यालो हुन्थ्यो ।
दशैँ, तिहार आएसंँगै गाउँमा रोटे पिङ्ग, लिङ्गे पिङ्ग खेल्नेहरुको ताँती देखिन्थ्यो । गाउँ भरी सालिम्मो बाबियो बाँसको चोयोबाट पिङ्ग बनाएर खेल्नेहरुको उत्साह र उमंगले साच्चै चाड आए झैँ हुन्थ्यो ।
तर आज भोलि गाउँघरमा न पिङ्ग मच्चिन्छ, न फुल फुलेको पाइन्छ, न यसमा कसैको चासो र चिन्ता भेटिन्छ । सामाजिक अगुवा रामशरण उप्रेती भन्छन् -“समाज कृतिमता तर्फ उन्मुख हुँदैछ । जसका कारण समाजको सामाजिक धरातल कमजोर बनेको छ भने सामाजिक र साँस्कृतिक संरचनामा पनि दरार उत्पन्न भएको छ ।
मान्छेहरू एकलकाटे बन्न थालेका छन् भने बिदेशी हावा पानी र सामाजिक संजालका कारण बर्गीय प्रेम, सद्भाव तथा राष्ट्रियता कमजोर भएको छ ।

प्राय जसो गाउँघरहरु खाली छ्न् । घरका ढोकामा ताल्चा लागेको पाइन्छ । घरका करेसाबारीमा झार भरिएको र लहराले ढाकेको पाइन्छ । रित्ता र मक्किएका घरमा उझाड भाव झल्किन्छ । गाउँघर र सहर बजारको अन्तरसम्बन्ध टुटेको भान हुन्छ ।

काठमाडौँ बसेर ब्यबसाय संचालन गर्दै आएका युवा ब्यबसायी शंभु नेपाल भन्छन् “संस्कृती बचाउन अब युवा जुट्नु पर्छ । देशमा रहेका सम्पुर्ण युवाहरुले गाउँको माया र गाउँ प्रतिको मोहलाइ पुनः स्थापित गर्नु पर्छ ।

युवा ब्यबसायी नेपालले भने जस्तै चाड-बाड, गाउँ-घर र संस्कृतिको जगेर्नामा युवाहरु अग्रसर हुनुपर्ने सर्बसाधारणको भनाइ छ ।




