सर्लाही । सर्लाहीको पूर्वी नाकामा पर्ने प्रहरी चौकी पर्सा तस्करीको प्रमुख मार्ग बनेको छ । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै यस नाकाबाट दैनिक रूपमा विभिन्न सामान र पशुहरूको अवैध कारोबार हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयका अनुसार पर्सा नाकाबाट भारततर्फ गाई–गोरु, चाइनिज स्याउ, चाइनिज मकै, काँक्राको बीउ तस्करी गरिन्छ भने भारतबाट कपडा, किराना सामान, हार्डवेयर, गाडीका पार्टपुर्जा, माछा र कुखुराका चल्ला नेपाल भित्र्याइने गरेको छ ।
नाम नबताउने सर्तमा एक ब्यापारीले प्रहरी चौकी पर्साका प्रमुख सई शम्भुप्रसाद यादवले तस्करहरूसँग महिनावारी असुल्ने र तस्करीको ‘लाइन’ दिने गरेका छन् भनेर दाबी गरेका छन् । उनले पाएको असुली र संरक्षणको आरोपले यादव विवादित बनेका छन् ।
सई यादव पैसा असुल्नमा माहिर मानिन्छ । उनले जहाँ इन्चार्ज भएर जान्छन्, त्यहाँ शान्ति–सुरक्षा भन्दा असुलीमा बढी ध्यान दिने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यिनै यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईको विश्वासपात्रको रूपमा चिनिने गरिएको छ । राईकै छत्रछायाँमा पर्सा चौकीको जिम्मेवारी पाएको र त्यही आधारमा तस्करलाई समेत धाक देखाउने गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने तस्करी रोक्न भ्याएसम्म प्रयास गर्ने र बरामद भएका गाई–गोरु तथा सामान भन्सारमा बुझाउने गरेको दाबी गर्ने गरेको छ । तर भन्सारमा बुझाइएका सामान पुनः तस्करले नै सस्तो मूल्यमा फिर्ता पाउने हुँदा तस्करी रोक्न नसकिएको स्थानीयको भनाइ छ ।न्यूज साभार नेपाल फेसबाट




