प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२५ अन्तर्गत डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा प्रत्येक वर्षझैँ यस वर्ष पनि उक्त अभियानलाई अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम महासंघका अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षता तथा महासंघकी केन्द्रीय सचिवालय सदस्य पार्वती विश्वकर्माको प्रमुख आतिथ्यतामा सगुन सहकारीको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले लैंगिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि घर–परिवारबाटै व्यवहारिक अभ्यासको सुरुआत गर्नुपर्नेमा जोड दिए।
“हिंसा न गर्छु, न गर्न दिन्छु” भन्ने प्रतिवद्धतासहित सामाजिक व्यवहार परिवर्तन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले डिजिटल माध्यम, सामाजिक सञ्जाल दुरुपयोग र साइबर क्राइम मार्फत हुने हिंसाका स्वरूपबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले पछिल्लो वर्षको तुलनामा महिला हिंसाका घटनामा ३ प्रतिशत वृद्धि भई २९ प्रतिशत पुगेको बताए। साथै पुरुषहरू पनि हिंसामा पर्ने क्रम बढ्दो रहेको उल्लेख गर्दै ९.५ प्रतिशत पुरुष हिंसाको दायरामा परिरहेको प्रहरी तथ्याङ्कबाट जनाए।
उनका अनुसार देशभरका ४७ जिल्लामा बालविवाहसम्बन्धी उजुरी दर्ता भइरहेका छन्, जसमा मधेश प्रदेश सबैभन्दा प्रभावित रहेको छ।

जिल्ला बार एशोसियसन सर्लाहीका अध्यक्ष अधिवक्ता ओमप्रकाश थापाले हिंसा गर्ने तथा गराउने व्यक्तिलाई लागू हुने कानुनी कारबाही, सजाय–जरिवाना र सरकारी वकिल कार्यालयबाट असहाय तथा विपन्न वर्गका पीडितलाई उपलब्ध निःशुल्क सेवा बारे जानकारी गराए। उनले आवश्यक परे कानुनी उपचारका लागि सहयोग रहने प्रतिबद्धता प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथी पार्वती विश्वकर्माले लैंगिक हिंसाको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै सामुदायिक वनले महिलालाई ५०/५० को कार्यकारी पदमा अनिवार्य सहभागिता दिलाएर नेतृत्व विकास, आर्थिक सशक्तीकरण तथा जीवनयापन सुधारमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्। यसले आर्थिक हिंसा न्यूनीकरणमा उल्लेख्य योगदान पुर्याएको उनको भनाइ थियो।

कार्यक्रममा सामुदायिक वन विकास तथा महिला हिंसा न्यूनीकरण क्षेत्रमा सक्रिय अन्तरपार्टी महिला संघ हरिवन की अध्यक्ष पदमा मोक्तान, सचिव संचिता घिमिरे, स्वास्थ्यकर्मी लक्ष्मी आचार्य लगायत ८ जनालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। त्यस्तै कानुनी क्षेत्रका अधिवक्ता ओमप्रकाश थापा, प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीलाई क्रमशः ढाकाटोपी र कपुरको बोट प्रदान गरी सम्मान गरिएको आयोजक महासंघका उपाध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाकुरनाथ खतिवडा, महिला नेतृ तारा सुवेदी पोख्रेल, पबि माया पाख्रीन, आशिका खड्का सहित विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका सल्लाहकार संयोजक माधव थापाले सञ्चालन गरेका थिए।




