हरिवन, सर्लाही । सर्लाही को हरिवन नगरपालिकाले पनि सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई ७ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, हरिवनद्वारा जारी सूचनाअनुसार जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी तथा ऐलानी जग्गामा अनधिकृत रूपमा घर, टहरा, पर्खाल, छाना लगायतका संरचना निर्माण गरी अतिक्रमण गरिएको पाइएको उल्लेख गरिएको छ।
नेपाल सरकारको सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने नीतिअनुसार यस्ता अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। साथै, मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयारी तथा निगरानी प्रणाली सुदृढ गर्ने कार्यसमेत अघि बढाइएको छ।
नगरपालिकाले सूचना प्रकाशन भएको मितिबाट ७ दिनभित्र स्वेच्छाले अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अटेर गरेमा प्रचलित कानुनअनुसार नगरपालिकाले स्वयं संरचना हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकारीबाट असुल गरिने चेतावनी दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालद्वारा हस्ताक्षरित उक्त सूचनामा कानुनी कारबाहीसमेत अगाडि बढाइने उल्लेख गरिएको छ।




