काठमाडौं सर्लाहीका हरिवन नगरपालिका–८ बेताली घर भई हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका पत्रकार जनार्दन पोख्रेल ‘राधा–लक्ष्मण पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका नेपालखबर अनलाइनका पत्रकार पोख्रेललाई नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आफ्नो २५औँ वार्षिक साधारणसभाको अवसरमा नगदसहित उक्त पुरस्कार प्रदान गरेको हो।
ललितपुरको महालक्ष्मीस्थानमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रकाशमानसिंह राउत ले नेपालखबरका उप–सम्पादकसमेत रहेका पोख्रेललाई नगद राशिसहित ‘राधा–लक्ष्मण पत्रकारिता पुरस्कार’ प्रदान गर्दै सम्मान गरेका हुन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अनुसार पत्रकारितामार्फत समाज परिवर्तन, जनसरोकारका विषयको उठान तथा नागरिक सचेतना अभिवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै पोख्रेललाई सम्मान गरिएको हो।
उक्त कार्यक्रममा राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवाली लाई ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेल लाई ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार’ तथा दियोपोष्टकी रीता बुढाथोकी लाई ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको महासंघले जनाएको छ।
त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडिया सञ्चार डटकमका केदारनाथ दाहाल लाई ‘ललितपुर पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको छ। उनीहरूलाई पत्रकारिता क्षेत्रमार्फत सार्वजनिक महत्वका विषय तथा ललितपुरसँग सम्बन्धित विषयवस्तु उजागर गर्न पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश राउतले पत्रकारिताले सुशासन प्रवर्द्धनसँगै नागरिकमा सहिष्णुताको संस्कार विकास गर्न खबरदारीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की को सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पण्डित, बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, पुरस्कारदाता मुक्तिनाथ आचार्य तथा महासंघ ललितपुरका उपाध्यक्ष श्याम तण्डुकार लगायतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभाको बन्दसत्रमा शाखाका सचिव दीपक अर्याल ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेल ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको अध्यक्ष कार्कीले जानकारी दिए।
सम्मानित भएपछि पत्रकार पोख्रेलले उक्त पुरस्कारले आफूलाई थप ऊर्जा र जिम्मेवारीबोध गराएको प्रतिक्रिया दिएका छन्। सत्यतथ्य समाचारमार्फत नागरिकका आवाजलाई अझ प्रभावकारी रूपमा उठाउँदै समाज परिवर्तनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई पुरस्कारका लागि योग्य ठानी सम्मान गरेकोमा नेपाल पत्रकार महासंघप्रति धन्यवाद तथा हार्दिक आभार प्रकट गरेका छन्।




