सर्लाही । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुन एक दुई दिन लाग्ने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफू अहिले परामर्शमै रहेकाले एक दुई दिन लाग्ने सक्ने बताएकी हुन् । आइतबार साँझ नेकपा एमाले बाहेकका दल एक भएर छलफलको लागि प्रदेश प्रमुखको कार्यालयमा गएकोमा प्रदेश प्रमुख भण्डारीले यस्तो बताएको मुख्यमन्त्री जितेन्द्र सोनलले बताए ।
सोनलले प्रदेश प्रमुखले छलफलमै रहेकाले एक दुई दिन ढिलो हुन सक्ने आफूहरुलाई प्रदेश प्रमुखले बताएको बताए । प्रदेश प्रमुखले संविधान अनुसार नै कदम चाल्ने छलफलको क्रममा बताएको सोनलले भने ।
जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरु प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आह्वान गरेर एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरेर काठमाडौँ जाने सुँइको पाएपछि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा पुगेको बताए ।
यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णाप्रसाद यादवले आफूहरु गठबन्धनभन्दा पनि संविधानको धारा अनुसार सरकार गठन हुनुपर्ने पक्षमा रहेको बताए । उनले कांग्रेस अहिले कुनै पनि गठबन्धनमा नरहेको भन्दै अहिले संविधानेको धारा अनुसार नै सूचना आह्वान होस् त्यसका लागि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा गएको बताए ।
शनिबार विश्वासको मत पाउने नभएपछि सोनलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि नयाँ सरकार गठनका लागि आह्वान भएको छैन् । आइतबार दिनभर विभिन्न राजनीतिक दलसँग छुट्टा छुट्टै भेटेकी प्रदेश प्रमुख सोमबार कानून व्यवसायी तथा संविधानका जानकारहरुसँग छलफल गर्ने भएकी छन् ।




