चितवन । लामो समयसम्मको लकडाउनका कारण सबै कार्यालयको राजश्व संकलनमा असर परिरहेको बेला आंशिक लकडाउन भएसंँगै ट्राफिक कार्यालय
चितवनको राजश्व संकलनमा बृद्धि भएको छ । चालु आर्थिक बर्ष बैशाख महिनाको तुलनामा कार्यालयले तीन गुणा राजश्व संकलन गर्न सफल भएको हो।
कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा ६ लाख ६१ हजार राजश्व संकलन गरेको छ ।
बैशाख महिनामा २ लाख ५ सय रुपैयाँ राजश्व असुली गरेको थियो भने चैत्र महिनामा ११ लाख ९७ हजार रुपैयांँ राजश्व संकलन गरेको थियो। कार्यालयका प्रमुख दयाकृष्ण भट्टका अनुसार अधिकांश सवारी साधन बन्द भएका कारण राजश्व संकलन कमी भएको हो। ‘हाम्रो राजश्वको श्रोत नै सवारी साधन हो। सबैजसो सवारी साधन ग्यारेजमा थन्किएका छन । उनले भने, सेमि लकडाउन भएसंँगै जेठ महिनामा राजश्व संकलनमा बृद्धि भएको छ ।’ सवारी साधनको चाप बढेसंँगै आगामी महिनामा राजश्व संकलनको अनुपात बढ्ने भट्टको भनाई छ ।
लकडाउन अवधिभर १ हजार ६ सय ३१ सवारीसाधन कारवाहीमा
ट्राफिक कार्यालय चितवनले लकडाउन अवधिभर सवारी नियम उल्लंघन गर्ने १ हजार ६ सय ३१ सवारीसाधनलाई कारवाही गरेको छ । सो अवधिभर कारवाहीमा ३ सय ८१ वटा ट्रक, १२ वटा वस, २ सय ५९ वटा जीपकार, ४९ वटा ट्रयाक्टर, ८ सय ९४ वटा मोटरसाइकल, र ३२ वटा अटोरिक्सालाई कारवाही गरिएको हो। ती सवारी साधनबाट नै राजश्व संकलन गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो। दुर्घटनामा समेत कमी सवारी साधन कम चलेसँगै यो तीन महिनामा दुर्घटनामा समेत कमी आएको छ । लकडाउन अघि दैनिक दुर्घटना हुंँदा महिनामा अधिकतम १२ जनाको मृत्यु भएपनि लकडाउन पछि भने यो संख्या ह्वात्तै घटेको छ । कार्यालयले दिएको जानकारी अनुसार बैशाख र जेठ महिनामा २/२ जनाको मृत्यु भएको थियोभने चैत्रमा दुर्घटनाबाट कसैको ज्यान गएको छैन । तीन महिनाको अवधिमा जम्मा ३५ जना मात्र सवारी दुर्घटनाबाट घाइते भएका थिए । कतिपय खाद्यसामाग्री र निर्माण सामाग्री बोक्ने सवारी साधनबाट दुर्घटना भएको प्रमुख भट्टले जानकारी दिनुभयो।




