चितवन । भरतपुर -१० स्थित वाईपास राेडमा रहेकाे राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेकाे कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको छ ।
क्रस भेरिफिकेशनकाे लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको नमुनाकाे नतिजाकाे आधारमा शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको प्रयोगशालाकी ईन्चार्ज डा. नितु अधिकारीले बताईन् ।
केही दिनअघि क्रस भेरिफिकेशनका लागि १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको थियाे । जस मध्ये पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना पठाइएको थियाे । बुधवार अबेर प्राप्त नतिजा अनुसार चितवनकाे प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र यहाँ नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाकी ईन्चार्ज अधिकारीले बताईन् । यस नतिजाकाे आधारमा शत प्रतिशत विश्वसनिय भन्न सकिने उनकाे भनाइ छ ।
गत चैत २३ गते औपचारिक रूपमा शुभारम्भ भएकाे भए पनि यस प्रयाेगशालामा चैत २४ गतेबाट नियमित रूपमा काेराेना परीक्षण शुरू गरिएकाे थियाे । त्सयअघि नेपालकाे मध्य भागमा रहेकाे मेडिकल सिटी चितवनमा कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने प्रयोगशाला बनाउनुपर्ने भन्दैं चौतर्फी रूपमा माग गरिएकाे थियाे । भरतपुर महानगरपालिका, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगकाे कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना भएकाे हाे ।
भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा माइक्रोबायोलोजिस्ट डा. नितु अधिकारी (ईन्चार्ज), माइक्रोबायोलोजिस्ट प्रदिप हमाल, सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपक सुवेदी, त्यस्तैगरि, मेडिकल ल्याब टेक्नोलोजिस्टहरूमा मनीराम महत्ताे, विश्वास न्याैपाने, सुरेश खतिवडा, सुमित्रा पाैडेल लगायतका टिम रहेका छन् ।
वैशाख ४ गते राप्ति नगरपालिका–८ निवासी वर्ष ६३ की महिला र उनकाे २७ वर्षकाे छाेराकाे रिपोर्टमा कोरोना पाेजेटिभ देखिएकाे थियाे । क्रस भेरिफिकेशनकाे लागि उनीहरूकाे स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकाेमा वैशाख ५ गते त्यहाँ पनि दुवै जनाकाे कोरोना पोजिटिभ देखिएको थियाे । जुन चितवनमा काेराेना संक्रमण भेटिएकाे त्याे नै पहिलो घटना थियाे । विदेशबाट फर्किएका ती आमा-छाेरामा बिना लक्षण कोरोना संक्रमण देखिकाे थियाे ।
यसैबिच, भरतपुरमा बुधवार २ सय ९७ वटा नमूना परीक्षण गरिएकाेमा पाल्पा जिल्लाका विभिन्न स्थानका गरि ९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । चितवनमा अहिलेसम्म गरिएको परीक्षण मध्ये एकैदिन यति धेरै जनाको पोजिटिभ रिपोर्ट आएको याे नै पहिलाे रेकर्ड हो ।
चितवनकाे काेराेना प्रयाेगशालामा चितवन, धादिङ, सल्यान, नवलपुर, अर्घाखाँची, नुवाकाेट, कपिलवस्तु, मकवानपुर, पाल्पालगाएतका जिल्लाहरूबाट आएका नमुनामा काेराेना परीक्षण हुने गरेका छन् ।




